काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई पहिचानको संकट उत्पन्न भएको बताएका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् । ‘माओवादी देशलाई माया गर्ने र जनताको लागि लड्ने नेता कार्यकर्ताको पार्टी भनेर चिन्थे । तर, अहिले हाम्रो छवि त्यस्तो छैन । हाम्रा पार्टीलाई पहिचानको संकट आउन थाल्यो’, प्रचण्डले भने, ‘हामी पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौं ।’
माओवादी पार्टी वास्तविकतामा क्रान्तिकारी भए पनि जनताको नजरमा खराब देखिन थालेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
प्रचण्डले अरु संसदवादी पार्टी र माओवादीबीच पहिचानको अन्तर मेटिँदै गएको बताए । ‘कतिपय स्थितिमा माओवादीका प्रतिनिधि अझै खराब पो छन् कि जस्तो जनतालाई परेको छ । जबकि हामी त्यस्ता होइनौं । हामी उन्नत विचारको पक्षपोषण गर्छौं’, प्रचण्डले भने ।