वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बचतपत्र खुल्यो, १२.५% ब्याज पाइने

नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी पाँच बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । राष्ट्र बैंकले देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीहरुका लागि उक्त बचतपत्र लागि आवेदन खुला गरेको हो।

यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउँछन् । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११.०३ प्रतिशत मात्रै ब्याज दिन्छन् । बचतपत्रको अवधि पाँच बर्षको रहेको छ ।

६–६ महिनामा ब्याज भुक्तानी पाइन्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ । चालु आर्थिक वर्षका लागि सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बेच्न लागेको हो ।

गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरिएकामा करिब ११ प्रतिशत मात्र बिक्री भएपछि यस वर्ष सरकारले आधा घटाएर निष्कासन गरेको हो । यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीले खरिद गर्न पाउँछन् । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि नै यस्तो बचतपत्र निष्कासन सुरु गरेको हो ।

वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्रको अवधि ५ वर्षको हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार