झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ ।
विमानस्थलका महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा धावनमार्गमा टायरबाट रबरका टुक्रा झरेपछि विमानको टायरमा समस्या आएको हो कि भनेर फिर्ता गरिएको हो । साे विमान काठमाडौं फिर्ता हुँदा केही समय विमानस्थल नै बन्द गरिएको थियो ।
हाल जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ । विमानमा ६९ जना यात्रु सवार थिए । अब यात्रुहरूलाई अर्को विमानमा चढाएर भद्रपुरतर्फ पठाउने तयारी भइरहेको बताइएकाे छ ।