काठमाडौं–तराई–मधेस द्रुतमार्गका लागि टेण्डर आह्वान भएको छ । फाष्ट ट्रयाक आयोजनाले बुधबार एक सूचना जारी गर्दै टेण्डर आह्वान गरेको हो । ठेक्का लाग्न बाँकी दुई वटा प्याकेजको लागि टेण्डर आह्वान भएको छ ।
फाष्ट-ट्रयाकको प्याकेज (४१+००० -४९+८१८.४२) मा डबल लेन क्यारिज-वे, एक्सप्रेस-वे सडक, पुल, ढलान स्थिरीकरण, इन्टरचेन्ज कार्यहरूको निर्माणका लागि आयोजनाले टेण्डर आह्वान गरेको हो ।
यसमा नेपाली र अन्तर्राष्ट्रिय सबै खाले निर्माण कम्पनीहरुले टेण्डरमा आवेदन दिन सक्नेछन् । यसमा डबल लेन क्यारिज वे एसियन हाइवे स्ट्यान्डर्ड मापदण्डको हुनुपर्ने छ। ठेक्का पाउनेले नै पुलको डिजाइन र कन्स्ट्रक्सन दुवै गर्नुपर्ने हुन्छ ।
यसमा ३६ वटा पुलको डिजाइनसहित निर्माण गर्नुपर्ने हुन्छ भने बक्स कल्भर्ट पनि निर्माण गर्नु पर्नेछ । भेहिकल ओभरपास र फुटपाथ सबै निर्माण गर्नु पर्नेछ । यो प्याकेजको ठेक्कामा आवेदन दिने निर्माण कम्पनीले २२ अर्ब ३८ करोडसम्मको बिडिङ क्षमता हुनुपर्ने छ ।
साथै प्याकेज (३५+३६०-४१०००) अन्तर्गतमा पर्ने डबल लेन क्यारिज-वे मानक एक्सप्रेस-वे सडक, पुल, ढलान स्थिरीकरण, इन्टरचेन्ज कार्यहरूको निर्माणका लागि समेत यो टेण्डर आह्वान गरिएको छ ।
यसमा नेपाली र अन्तर्राष्ट्रिय सबै खाले निर्माण कम्पनीहरुले टेण्डरमा आवेदन दिन सक्नेछन् । यसमा डबल लेन क्यारिज-वे एसियन हाइवे स्ट्यान्डर्डको हुनुपर्ने छ । ठेक्का पाउनेले नै पुलको भने डिजाइन र कन्स्ट्रक्सन दुवै गर्नुपर्ने हुन्छ ।
यसमा १० वटा पुल डिजाइनसहित निर्माण गर्नुपर्ने हुन्छ । साथै बक्स कल्भर्ट पनि निर्माण गर्नुपर्ने छ । भेहिकल ओभरपास र फुटपाथ सबै निर्माण गर्नुपर्ने छ । यस प्याकेजको ठेक्कामा आवेदन दिने निर्माण कम्पनीले ६ अर्ब ८० करोडसम्मको बिडिङ क्षमता हुनुपर्ने छ ।