इटाली र अर्जेन्टिनाको खेल आज राति हुँदैछ । दुई महादेशस्तरका च्याम्पियन देशहरू ‘डिएगो म्याराडोना सुपर कप’मा आज राति भिडन्त गर्न लागेको हो । अर्जेन्टिना र इटालीको खेललाई विश्व फुटबल जगतले व्यग्र प्रतीक्षाका साथ हेरिरहेको छ । यो खेलमाथि सिंगै विश्वको नजर रहने पक्का छ ।
यो खेल दक्षिण अमेरिकी महादेशबाट कोपा अमेरिका च्याम्पियन र युरोपियन महादेशबाट युरो कपको च्याम्पियन देश बीच खेलाउन लागिएको हो । यो खेलका लागि दक्षिण अमेरिकी फुटबल महासंघ र युरोपियन फुटबल महासंघ ले संयुक्त रूपमा फिफा समक्ष प्रस्ताव गरेपछि खेल खेलाउने अनुमति मिलेको थियो ।
खेललाई सुरुमा मैत्रीपूर्ण भनिए पनि अफिसियल रहेको बताइएको छ । तर, आधिकारिक कुनै पनि निकायले यसलाई मैत्रीपूर्ण वा आधिाकारिक प्रतियोगिता भनेर हालसम्म पुष्टि भने गरेका छैनन् ।
गत वर्ष २०२१ को युरो कपको उपाधि इटालीले जितेको थियो । कोपा अमेरिका अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिना आफ्नो महादेशबाट अपराजित रहँदै कतार विश्वकपमा छनौट भइसकेको देश हो भने इटाली यसपटक पनि विश्वकपमा छनौट हुन सकेको छैन ।
खेलमा अर्जेन्टिनाभन्दा इटाली चर्को दबाबमा हुनेछ । खेल दुवै देशका लागि उपाधिका साथै प्रतिष्ठाका लागि पनि ज्यादै महत्त्वपूर्ण खेल हुनेमा दुईमत छैन । गत वर्ष इटालीले युरो कप जित्दा शानदार यात्रा तय गरेको थियो । उसले फाइनलमा इंग्ल्यान्डलाई हराएर च्याम्पियन बन्दा अर्जेन्टिनाले कोपा अमेरिका ब्राजिललाई उसकै घरमा हराएर उपाधि जितेको थियो ।
गत वर्ष युरो कप जित्दाको दौरान इटालीले ३७ खेलसम्म अपराजित यात्राको नयाँ रेकर्ड बनाएको थियो, अन्तर्राष्ट्रिय फुटबलमा आज पनि त्यो दुर्लभ रेकर्ड नै छ । यता, अर्जेन्टिना पनि आफ्ना पछिल्ला ३० खेलमा अपराजित रहेको छ ।
खेल पूर्वघोषित मिति अनुसार नै आज राति हुन लागेको हो । यो खेल इंग्ल्यान्डको वेम्बली रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार मध्य राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ । नेपाली मिति अनुसार खेल मे २ तारिखमा पर्नेछ । उक्त खेल यसअघि अर्जेन्टिना वा इटालीको नापोलीमा हुने प्रस्ताव भए पनि बेलायतमा आयोजना गरिने भएको हो ।