सिरहामा बाबुछोराको हत्या आरोपमा बुहारीसहित तीन पक्राउ

बुहारीले सुपारी दिएर बनाएकी थिइन् याेजना

सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी साहिली बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका–४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो ।

घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो । घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । उक्त घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएएको उनले बताए । पारिवारिक रिसिइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसरी भयो हत्याकाण्ड
प्रहरीले दिएको जानकारी अनुसार मृतक सन्त पालको जेठ ११ गते मोरङ जिल्ला बस्ने यूवतीसँग विवाह तय भएको थियो । शान्तिका पति वैदेशिक रोजगारीमा छन् । शान्तिको घरपरिवारसँग सम्बन्ध ठीक नरहेको कारण गोलबजारमा डेरा गरी बस्दै आएकी छन् । देवर सन्त पालको विवाहमा शान्तिलाई निम्ता थिएन ।

सासुससुराले शान्तिलाई अंशसमेत नदिएका कारण उनी क्रुद्ध थिइन् । पहिलाको पारिवारिक रिसईवी र बिहेमा निम्ता नदिएको रिसमा शान्तिले जेठ पहिलो साता ससुरा र देवरको हत्याकै योजना बुनिन्।

जनिफ मियाँ र बेचु पालसँग सासु देवरको हत्याको योजना बनाइन् । बेचुको छोराको विवाह पनि पहिला सन्तको विवाह हुने बेहुलीसँग तय थियो । तर उनकै छोराले नमान्दा बिहे टलेको थियो । सोही कारण मृतक चन्द्रदेवसँग बेचुले रिस पालेका थिए ।

शान्तिका पति विदेश जाने बेला श्रीमतीलाई केही समस्या परे हेरविचार गरिदिनु भनेर जानिफ मियाँलाई जिम्मेवारी सुम्पेका थिए ।

तीनैजनाको सल्लाहले शान्ति आफ्ना ससुरा र देवरलाई हत्या गर्ने निष्कर्षमा पुगिन् । शान्तिले ससुरा देवरको हत्या गराउन जानिफ मियाँ र बेचु पाललाई ५० हजार रुपैयाँको सुपारी दिने बचन दिइन् । हत्या गरेपछि पैसा दिने शान्तिले भनेकी थिइन् ।

११ गते बिहे रहेकामा ७ गते राति नै सो घटना गर्न चन्द्रदेवकै घर छेउमा रहेको राजदेवी मन्दिरमा दुवै जना भेट्ने योजना थियो । हत्या गर्नको लागि जनिफ मियाँले बन्चरो ल्याउने र बेचु पालले खुकुरी लिएर जाने तय भएको थियो ।

बेचु पाल झोलामा खुकुरी लिएर मन्दिरमा पुगे । तर जानिफ पुगेनन् । सो घटना एक्लै बेचुले नै गर्ने मनसाय बनाए । मध्य रातिसम्म घरमा चन्द्रदेवको घरमा महिलाहरुले विवाहको गीत गाइरहँदा बेचु केहीबेर मन्दिरमा आराम गरे ।

गीत बन्द भएपछि बेचु पाल घरमा पुगेर पहिला गोठमा सुतिरहेका चन्द्रदेवलाई गर्धनसहित विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरे । त्यसपछि छोरा सन्त पाल सुतिरहेको कोठामा पुगेर खुकुरीले विभिन्न भागमा प्रहार गरी हत्या गरे ।

कोठामा बाहिरबाट चुकुल लगाई पुनः मन्दिरमा फर्केर राम्रोसँग हातमुख धोइ फर्केको घटनाको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार