मेलम्चीको पानी पठाउन रोकियो, मनसुन सकिएपछि पुन: खोलिने

खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक

वर्षा सुरु भएसँगै काठमाडौं उपत्यकामा मेलम्चीको पानी पठाउन बन्द गरिएको छ । मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ ।

वर्षाले सुरुङ र हेडवर्क्समा पुर्‍याउन सक्ने क्षति न्युनिकरणका लागि पानी पठाउन बन्द गरेको हो । अब वर्षापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा आउनेछ ।

मुल ढोका बन्द गरेसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

९ वटा शाखा रहेको केयूकेएलको महाँकालचौर शाखाले नयाँ तालिका सार्वजनिक गरेको छ । त्यस्तै अन्य शाखाले पनि पानी वितरणको नयाँ तालिका सार्वजनिक गर्दैछन् ।

मेलम्चीको पानी आउन रोकिएपछि महाँकालचौर शाखाले सुन्दरिजल मुहानबाट संकलन हुने खानेपानी र गोकर्णबाट डिप बोरिङबाट संकलन हुने खानेपानी विबितरण गर्न लागेको हो ।

शाखा प्रमुख उमेशबाबु मरहठ्ठाका अनुसार महाँकालचौर शाखा अन्तर्गत रहेका केसर महल, ईन बहाल, ठमेल, ज्याठा, माली गाउँ, हाडी गाउँ, नक्साल, बागबजार, माइतीघर गौरीघात, मैजुबहल, क्षेत्रपाटी, अनामनगर, मैतीदेवी घट्टेकुलो, डिल्ली बजार पिपलबोट, बौद्ध, जोरपार्टी, त्रिपुरेश्व, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका क्षेत्रमा अब नयाँ तालिका अनुसार पानी वितरण गरिनेछ ।

एक दिनदेखि ८ दिनको फरकमा पानी वितरणको तालिका रहेको छ । अन्य शाखाहरूले समेत पानीको नयाँ तालिकाका लागि छलफल थालेका छन् । गत असार १ गते आएको बाढीसँगै मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यहि बेलादेखि बन्द रहेको मेलम्चीको मुहान १२ बैशाखमा खोलिएको थियो । अस्थायी रूपमा मर्मत सम्भार गरेर मेलम्चीको पानी सुरूङमार्ग हुँदै काठमाडौं उठाइएको थियो ।

गत वर्षको बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि गत वैशाख ११ गतेदेखि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार