सरकारले सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिएपछि स्वदेशी उत्पादक विरोधमा

नेपाल सेनिटरी प्याड उत्पादक संघले बजेटबाट आयातित सेनिटरी प्याडलाई प्रोत्साहन दिएर स्वदेशी उद्योग धरासायी बनाएको भन्दै विरोध जनाएको छ।  बहुराष्ट्रिय कम्पनीका चर्चित ब्राण्डका आयातित सेनिटरी प्याडसँग नेपाली ब्राण्डले प्रतिस्पर्धा गर्न गाह्रो हुने भन्दै सरकारको पछिल्लो नीतिले नेपाली उद्योगलाई डुबाउने जिकिर संघको छ।

ठूला साना गरी प्याड उत्पादन गर्ने ३४ देखि ४० उद्योगहरु रहेको र ६ हजार जनालाई रोजगारी दिइरहेका यी उद्योगमा करिब ६ अर्ब रुपैयाँ लगानी भएको बताइएको छ। यी उद्योगको वार्षिक क्षमता ९० करोड थान सेनिटरी प्याड उत्पादन गर्न सक्ने रहेको दाबी संघको छ।

बजेटले आयातित सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गरेसँगै संघले विरोध जनाएको हो। हाल १५ प्रतिशत रहेको भन्सार महशुलमा ९० प्रतिशत छुट हुँदा अब १.५ प्रतिशत मात्र तिरे पुग्ने गरी सरकारले बजेटबाट व्यवस्था गरेको छ।

स्वदेशी उद्योगहरुले कच्चा पदार्थमा एक प्रतिशत भन्सार महशुल तिर्दै आएका छन्। केही कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीमा लाग्ने ५ प्रतिशत अन्त:शुल्कबारे बजेटले कुनै सम्बोधन नगरेको संघले जनाएको छ। जसका कारण तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी कर तिर्नुपर्ने अवस्था आएको भन्दै संघले असन्तुष्टी जनाएको छ।  सरकारको कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धी भएर बन्द हुने र हाल १.५ अर्ब रुपैयाँको आयात बढेर ५ वर्षमा ७.५ अर्ब रुपैयाँ पुग्ने जिकिर संघको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार