दैलेखको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। ११ वडा रहेको नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको हो।
नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए।
विनियोजन बजेटबाट निःशुल्क बीमाका लागि ७ लाख ५४ हजार ६ सय रुपैयाँ खर्च भएको शाखा प्रमुख खड्काले बताए। उनले नारायण–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको बताए।