सर्लाहीको बलरामा २६ जना मलेरियाका बिरामी भेटिए

सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन्। गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ।

बलरा नगरपालिका–२ हथियौल र वडा नम्बर ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया अर्थात् औलोरोग देखा परेको थियो।

ठूलो संख्यामा मलेरियाका बिरामी भेटिएपछि सदरमुकाम मलंगवाबाट किट र औषधिसहित चिकित्सकको टोली गाउँमा खटाएर रगत परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा। नवलकिशोर झाले जानकारी दिए।

डा। झाका अनुसार सबै बिरामीको अवस्था सामान्य नै छ। एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्दछ। मलेरियाका बिरामीहरु भेटिएपछि स्वास्थ्य कार्यालय मलंगवाले बलरामा केही दिन अघिदेखि लामखुट्टे मार्न घर–घरमा कर्मचारी खटाएर औषधि छर्कने काम भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार