प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति र एआईजीको बढुवासम्बन्धी सवोच्चमा परेको रिटमाथिको सुनुवाई जेठ ३० गते हुने भएको छ । आजका लागि सुनुवाइको मिति तोकिएपनि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन ।
डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआइजी बढुवाको विरुद्धमा गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसैगरी एआइजी विश्वराज पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको समेत माग गरेर रिट दायर गरेका थिए ।
नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा परेको रिट निवेदनमा पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको छ । यसअघिको आदेश अनुसार हाल महानिरीक्षक रहेका धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्र बहादुर धानुकको नाममा म्याद तामेल हुन सकेको थिएन ।
सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सबै प्रक्रिया सकिएपछि जेठ ३० गतेका लागि सुनुवाइको मिति समेत तोकिएको छ ।