विश्‍वासको मत लिने प्रधानमन्‍त्री ओलीको प्रस्तावमाथि मतदान सुरु

प्रधानमन्‍त्री केपी शर्मा ओलीले मागेको विश्‍वासको मतको प्रस्तावमा मतदान सुरु भएको छ । प्रधानमन्‍त्री ओलीले राखेको प्रस्तावउपर छलफल र जवाफ दिने क्रम सकिएपछि अहिले मतदान प्रकिया सुरु भएको हो । यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ । विभाजनको प्रकियाबाट मतदान हुँदैछ । सांसदहरू मतदानका लागि लाइनमा छन् । हुन्छ, हुन्न र मत दिन्‍न भन्‍नेका लागि अलग अलग मतदान कक्ष राखिएको छ । संक्रमितका लागि अलग्गै मतदान कक्ष व्यवस्था गरिएको छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन् । यो अंकगणितअनुसार प्रधानमन्त्रीले विश्‍वासको मत लिन १ सय ३६ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन् । तीनजना स्वतन्त्र हैसियतमा छन् । माधव नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।

माधव पक्ष अनुपस्थित भएपछि ओलीले सयभन्दा कम मत पाउने देखिन्छ । माधव पक्षले राजीनामा नदिँदा विश्‍वासको मत लिन आवश्यक पर्ने संख्या घटेको छैन । अहिले अुनपस्थित भए पनि वैकल्पिक सरकार बनाउने बेला राजीनामा दिएर विपक्षी गठबन्धनलाई सघाउने संभावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार