तारा एयर दुर्घटना : ब्ल्याक बक्स भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।

यसैबीच हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको छ । सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । आज बिहान भने सबै शव संकलनको काम सकिएको छ । घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० शव काठमाडौं ल्याइएको थियो । ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाइँदै छ ।

३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार