आईजिपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ

वरिष्ठता क्रम मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ ।

यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेकी थिइन् ।

सरकारले १७ महिना जुनियर एआईजी सिंहलाई आईजिपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र धिरज प्रताप सिंहलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

निवेदक र विपक्षी सिंहको व्यक्तिगत फाइल र उनलाई बढुवा गर्ने वैशाख १८ गतेको प्रस्तावसहितको निर्णय मिसिल समेत झिकाउन आदेश जारी भएको थियो ।

अदालतबाट अन्तरिम आदेश जारी नभएपछि आईजीपी सिंहलाई काम गर्ने बाटो खुलेको थियो । त्यसैले उनले वैशाख १९ गते नै दर्ज्यानी चिह्न प्राप्त गरी नेपाल प्रहरीको कमाण्ड सम्हालिसकेका छन् । सिंह एआईजीमा बढुवा भएको एक महिनामै आईजिपीमा बढुवा भएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार