सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि प्रसाद सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।
आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।
सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ । पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
त्यसैगरी दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।