मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौँलाका पहिलो चरणमा दश जनाको शव काठमाडौँमा ल्याइएको हो। दश जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर पोखराबाट काठमाडौँ आएको छ । भेटिएका शव सनाखत गर्न बाँकी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शवहरुलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल लगिनेछ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा तारा एयरको जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको थियो।
पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।