पत्नी हत्याको मुद्दामा दोषी ठहर भएका रञ्जन कोइरालालाई सेन्ट्रल जेल ल्याइएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पुर्जी जारी गरी कोइरालालाई सेन्ट्रल जेल पठाइएको हो ।
पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले सशस्त्र प्रहरीका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई २० वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च हुदै सर्वोच्च पुगेका कोइरालालाई सर्वोच्च अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सुनाइएको २० वर्षको जेल सजाय बढी हुने ठहर गर्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए । सर्वोच्चले जतिबेला यो फैसला सुनाएको थियो, त्यतिबेला उनी ८ वर्ष ६ महिना जेल बसिसकेका थिए । फैसलामा कोइरालालाई सुनाइएको ‘सजाय बढी पर्न जाने चित्तमा लागेको हुँदा’ कम ठहर गरिएको उल्लेख थियो ।
तर सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावेदनको निवेदन परेपछि सर्वोच्चले पुनरावेदनको निस्सा दिएको थियो । त्यसपछि उक्त मुद्दा पुनः ब्यूँतिएको थियो । केही दिनअघि मात्रै उक्त मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्टाउँदै कोइरालालाई २० वर्ष नै जेल सजाय हुने फैसला सुनाएका थिए ।