प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका हुन् ।
बलात्कार जस्तो अपराधीलाई क्षमा दिन नसकिने भन्दै उनले ढिलो चाँडो अपराधीलाई कानुनी कठघरमा उभ्याइने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको जानकारी दिएका हुन् ।
संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उनले बताए । प्रधानमन्त्री देउवाले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई कार्य गर्दै आएको बताउँदै आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
फेसबुकबाट प्रतिक्रिया