तारा एयर जहाज दुर्घटना : सबै यात्रुको शव भेटियो, १० शव कोवाङ ल्याइयो

मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ता २२ जना यात्रुको शव भेटिएको हो । भेटिएका शव सनाखत गर्न बाँकी छ ।

भेटिएका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । प्रतिकूल मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।

कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ भने अन्य शवहरु पनि उद्धारकर्ताले भीरमा बोकेर झारिरहेका छन् । भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएको हो । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव  काठमाडौं ल्याइने छ ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान भेटिएको थियो ।

आइतबार पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार