आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।
आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सोमबार बिहान मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त जहाज किसानहरुले फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनका अनुसार मानापाथी हिमालको फेदीमा २८ कात्तिकमा हिमपहिरो गएकै स्थान नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो । ‘त्यहाँको तस्वीर प्राप्त भएपछि हवाई उद्धार टोली पठाइसकेका छौं’ शर्माले भने, ‘स्थलमार्गबाट पनि टोली गइसकेको छ ।’