आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत, मूल्यवृद्धि दर सात प्रतिशतमा सीमित गरिने

आगामी आर्थिक वर्षका लागि सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अवस्थामा सुधार आई सो आर्थिक वृद्धिको लक्ष्य पुरा हुने बताएका हुन् । सरकारले चालु आवमा सात प्रतिशतको लक्ष्य राखेपनि ६ प्रतिशतभन्दा कम हासिल भएको छ ।

यस्तै मन्त्री शर्माले आगामी वर्ष मूल्यवृद्धि सात प्रतिशतमा सीमित राख्ने घोषणा गरेका छन् । चालु वर्ष साढे ६ प्रतिशतको लक्ष्य राखिएपनि त्योभन्दा माथि पुगिसकेको छ ।

वित्तीय जोखिम पहिचान, अनुगमन र व्यवस्थापन गरी वित्तीय जोखिम न्यून गरिनेछ। समष्टिगत आर्थिक स्थायित्व, राजस्व प्राप्ति, खर्च व्यवस्थापन, ऋण व्यवस्थापन, सार्वजनिक संस्थान व्यवस्थापन र वित्तीय क्षेत्रका जोखिम व्यवस्थापन गरी जोखिम न्यून गरिने बजेटमा उल्लेख छ ।

व्यापार घाटा तीव्र भएर विदेशी मुद्राको सञ्चिति क्षयीकरण भइरहेको सन्दर्भमा बैंकिङ ऋण ठप्प छ । क्षमताभन्दा निक्कै ठूलो बजेट आएका कारण खर्च गर्ने र त्यसको स्रोतको जोहो निक्कै कठिन छ ।

त्यसमाथि पेट्रोलियम पदार्थको मूल्य कतिसम्म माथि जाने निश्चित छैन । यस्तोमा उच्च आर्थिक वृद्धि र सात प्रतिशतमा मूल्य वृद्धि राख्ने लक्ष्य अवास्तविक देखिन्छ ।

सम्बन्धित समाचार