बेलबारीमा मोटरसाइकल दुर्घटना, दुई युवाको मृत्यु

मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ ।

गएराति बेलबारी नगरपालिका–१० भाउन्नेमा को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र मोटरसाइकलको पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल ल्याइएको थियो । चौधरीको राति ९ः४० बजेतिर र धिमालको आइतबार (आज) बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन । बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

दुर्घटनापछि बस र ट्रयाक्टरका चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङ एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार