नेपालीले औसतमा कमाउँछन् वार्षिक १ लाख ७० हजार

नेपालीको प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।

यसअघि आर्थिक वर्ष ०७७÷७८ मा १२४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १३८१ डलर पुग्ने अनुमान गरिएको हो ।

शनिबारको अमेरिकी डलरको विनिमय दर अनुसार एक वर्षमा एक जना नेपालीले औसतमा १ लाख ७० हजार ९८१ रुपैयाँ आम्दानी गर्ने देखिएको छ ।

प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (पर क्यापिटा जीडीपी) पनि अघिल्लो वर्षको बाट १२.३ प्रतिशतले बढेर एक लाख ६४ हजार पाँच सय ९८ रुपैयाँ पुग्ने अनुमान आर्थिक सर्वेक्षणको छ। अघिल्लो वर्ष यो एक लाख ४६ हजार पाँच सय २१ रुपैयाँ थियो।

कुल गार्हस्थ उत्पादनसँग लगानीको अनुपात ३७.३ प्रतिशत पुग्ने अनुमान सर्वेक्षणले प्रस्तुत गरेको छ। गत आवमा यो ३५.९ प्रतिशत थियो।

यो आर्थिक वर्षको अन्त्यसम्ममा उपभोक्ता मूल्यमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको पुग्ने उल्लेख गरिएको छ। प्रदेशगत रुपमा यसमा सबैभन्दा ठूलो हिस्सा राजधानी शहरसमेत रहेको बागमती प्रदेशको (३६.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेशको (४.१ प्रतिशत) रहने जनाइएको छ।

यो वर्ष कुल लगानी रकम पनि १८.१ प्रतिशले बढ्ने अनुमान छ। यद्यपि, यो वद्धि दर गत आवको तुलनामा भने ११ प्रतिशतभन्दा धेरैले कम हो। गत वर्ष २०७६/७७ को भन्दा २९.३ प्रतिशतले लगानी थपिएको थियो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार