स्यालको बथानले सिंहको शिकार गर्न सक्दैन : लिल बहादुर थापा [अन्तर्वार्ता]

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ । यो पटकको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओमादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी बिच गठबन्धन भएको थियो । भने अर्को तर्फ नेकपा (एमाले)ले पनि केहि दलसँग चुनावी ताममेल गरेको थियो । र यो पटकको स्थानीय निर्वाचनमा यी दुई चुनावी गठबन्धन बिच कडा प्रतिस्पर्धा देखियो । केहि स्थानमा स्वतन्त्र उम्मेद्वारहरुले राजनीतिक दलहरुलाई पराजयको स्वाद चखाए ।

स्थानीय निर्वाचनको प्राप्त नतिजा अनुसार यो पटक काँग्रेस पहिलो शक्तिका रुपमा देखा परेको छ भने अघिल्लो निर्वाचनमा पहिलो भएको एमाले दोस्रो स्थानमा खुम्चिएको छ । यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा छ । अघिल्लो पटक भन्दा यो पटक कम्जोर बनेको नेकपा एमालेले अहिलेको स्थानीय तह निर्वाचनको मतपरिणामलाई कसरी लिँदै छ ? पार्टी भित्र समिक्षा कसरी हुँदै ? भन्ने विषयमा बस्तुमा केन्द्रीत रहेर नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लिल बहादुर थापा मगरसँग गरिएको कुराकानीको सम्पादित अंश:

अघिल्लो पटकको स्थानीय निर्वाचनमा त्यतिका स्थानीय तह जितेर पहिलो भएको नेकपा एमाले यो पटक भने दोस्रोमा खुम्चियो ? यसलाई कसरी लिनु भएको छ ? पार्टीले कसरी समीक्षा गर्दै छ ?
देशभरी भएका मतदाता संख्याको मूल्याकंन गर्ने हो भने हामी मजबुत छौँ । हामीले यो निर्वाचनमा करीब ५० लाख मत प्राप्त गर्छौ । काँग्रेसले प्राप्त गरेको मत करीब ४० लाख वरीपरि छ । यो हिसाबले हामी अगाडि नै छौं । यो निर्वाचनमा हामी सिटको आधारमा दोस्रो भए पनि जनमतका हिसाबले अझै पहिलो छौ । प्राप्त गरेको सिट भन्दा पनि जनमतलाई हिसाब गर्ने हो । यो पटकको स्थानीय तह निर्वाचनमा गठबन्धनले धेरै ठाउँमा धाँधली गर्दा पनि हामी कम्जोर भएनौं । गठबन्धनका दलहरुलाई पनि लाग्दो हो एमालेलाई पराजित गर्न सजिलो रहेन्छ भन्ने । समग्रमा यो नतिजाबाट सन्तुष्ट नै छौँ । अझ लोकप्रिय कामहरु गरि जनताको मन जित्ने र जनताको सेवा गर्ने प्रयास जारी रहेन्छ ।
यो पटकको स्थानीय निर्वाचनमा गठबन्धनलाई पत्तासाप गर्छौ भनेर लाग्नु भएको थियो । तर गठबन्धनले तपाईहरुको पार्टीलाई पत्तासाप गर्यो नी है ?
यो गठबन्धनका दलहरुले सन्तुष्टि लिन बोल्ने भाषा हो । उनीहरुले गरेको गतिविधी,कार्यशैली एमालेको जस्तो हुन सक्दैन । स्वच्छ, निष्पक्ष हुन सक्दैन । गठबन्धन गर्दा हामीलाई भन्दा धेरै नकारात्मक असर उनीहरुलाई परेको छ । गठबन्धन कै कारण उनीहरुका धेरै कार्यकर्ता विभाजित भए । बर्षैसम्म पार्टीमा संघर्ष गरेका कार्यकर्ताले पार्टी नै छोड्ने अवस्था आयो । उनीहरुका लागि यो कुरा पक्कै पनि राम्रो होइन । गठबन्धनका कारण काँग्रेस, माओवादी लगायतका दलहरु नै कम्जोर भए । यो गठबन्धन राष्ट्रका लागि पनि हानिकारक बन्दै छ । उनीहरु एमालेलाई कमजोर बनाउनका लागि विभिन्न राष्ट्रघातका निर्णय गरिराखेका छन् । देशी विदेशी दललाहरुसँग साठगाठ गर्दै छन् । यो देशका लागि दुर्भाग्य हो । गठबन्धनका दलहरुले राजनीतिक संस्कार, नैतिकता र विचार गुमाइसके ।

अघिल्लो पटक जित हात पारेका धेरै स्थानीय तह एमालेले गुमाउनु पर्यो । पार्टीले कम्जोर नतिजा प्राप्त गर्नुको कारण केके हुन सक्छन् ? कहाँ निर चुक्यौँ भन्ने जस्तो लाग्छ तपाईलाई ?
हाम्रो केन्द्रिय कमिटी बैठकले ठोस र यथार्थपरक समीक्षा गर्ने छ । यो पटकको स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुले सत्ता र शक्तिको आडमा धेरै ठाउँमा धाँधली गरे । हाम्रा कार्यकर्तामाथि कुटपिट गर्नेदेखि लिएर हत्या गर्नसम्म पनि पछि परेनन् । यसले नतिजालाई असर गर्यो । गठबन्धनका दलहरुको चरित्र छताछुल्ल भयो । अर्को हामीले चुनाव भन्दा पहिले नै देशभक्त शक्तिहरुलाई एक ठाउँमा लिन सक्नु पथ्र्यो । त्यसो गर्र्न सकेनौं । हामीले गठबन्धनमा भएका दलका प्रतिगमनकारी षडयन्त्रहरुलाई जनता समक्ष प्रस्ट पार्न सकेनौं । यो हाम्रो कम्जोरी हो । त्यस्तै हाम्रो सरकारले गरेका कामहरु तल्लो तहका जनता समक्ष पुयाँउन सकेनौ । जसले गर्दा हामीलाई जनताले राम्रोसँग बुझ्न पाएनन् । उम्मेद्वार छनोटमा पनि हामी चुक्यौँ । कतिपय स्थानमा राम्रा र जनताले विश्वास गर्ने व्यक्तिहरु उम्मेदवार बन्न सक्नु भएन । अन्तरघात पनि हामीले हार्नुको कारण हुन सक्छ । यद्धपी पार्टीले आधिकारीक रुपमा समीक्षा गर्न बाँकी नै छ ।

यो गठबन्धन प्रदेश हुँदै संघीय निर्वाचन सम्म नै गयो भने त, एमालेलाई प्रचण्डको भाषामा भित्तामा नै पुर्‍याएरै छोड्ने भए है ?
हामी विज्ञानलाई मान्छौ । हामी यर्थाथतालाई स्वीकार गर्छौ । यो निर्वाचनमा हामीले कम सिट प्राप्त गरेको पक्कै हो । तर जनमतका हिसाबले हामी पहिलो नै छौं । यो हिसाबले गठबन्धन संघीय निर्वाचनसम्म गएपनि हामीलाई कुनै असर पर्दैन । सिंहका विरुद्ध स्यालहरु लाग्छन् । तर केहि गर्न सक्दैन । सिंहले शिकार गर्छ । स्यालहरु, हुडारहरु मिल्दैमा सिंहलाई केहि हुँदैन ।

पहिले माओवादीसँग मिलेर निर्वाचनमा जाँदा पहिलो पार्टी बन्नु भयो ? कम्युनिष्टहरु मिल्दा जनताहरुले विश्वास गरे । करिब दुईतिहाइ नजिकको बहुमत प्राप्त गर्नु भयो । तर यो पटक छिन्न भिन्न भएर निर्वाचनमा जाँदा जनताले पत्ताएनन । न तपाईहरुलाई पत्ताए न माओवादीलाई नै न एकीकृत समाजवादीलाई नै ? यो पराजय नेकपा विभाजनमा जनताले गरेको मूल्यांकन हो भनेर बुझ्न सक्छौँ ?
हाम्रो देशमा करिब ७० प्रतिशत जनमत कम्युनिष्टको पक्षमा छ । कम्युनिष्टहरुलाई काँग्रेस लगायतका दलहरुले यत्तिकै पराजित गर्न सक्दैनन् । त्यो कुरा उनीहरुलाई थाहा छ । अमेरिका, भारत लगायतका विदेशी शक्तिहरुलाई पनि थाहा छ । कम्युनिष्टहरुलाई पराजित गर्नका लागि, फुटाउनका लागि काँग्रेसका साथै देशीविदेशी शक्तिहरु लाग्छन् । कम्युनिष्टहरु पनि स्वार्थमा लिप्त हुन थालेका छन् । जसको कारणले एकजुट हुन सक्दैनौं । यो पराजय विभाजनमा जनताले गरेको मूल्याकंन हो भनेर स्वीकार गर्न गाह्रो छैन । यदपी जनमत जागोउन हामी सफल नै छौ । काँग्रेसको भन्दा करिब १० लाख बढि मत हामीले प्राप्त गरेका छौँ । यत्तिका जनमत हाम्रो पक्षमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार