रोजगारदातालाई साउदी सरकारको नयाँ नियम, अन्यत्र काम गर्न दिए जरिवाना र कैद हुने

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो ।

श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारवाहीको भागिदार हुनुपर्नेछ । पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ ।

पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो ।

केही रोजगारदाताले फाइदाको लागि आफ्ना श्रमिकलाई अन्यत्र काममा लगाउने गर्छन्। साउदीको नियमअनुसार सम्बन्धित रोजगारदाताबाहेक अन्यत्र काम गर्न पाइँदैन। यसरी काम गर्नु एक किसिमले अवैध जस्तै हो । जसले श्रमिक नै कानूनी रुपले कमजोर हुने र आफ्नो अधिकारबाट समेत वञ्चित हुनसक्छन् ।

यस्तै, पब्लिक सेक्युरिटीले आवास, श्रम र सीमा सुरक्षा नियमको कुनै उल्लङ्घन भएको पाइएमा मक्का र रियाद क्षेत्रमा ९११ नम्बर र अन्य क्षेत्रमा ९९९ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न आह्वान समेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार