अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान

Sunrise Bank Middle Size

काठमाडौं महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ । हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे । १० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए । दुईचार दिन घरमै हेरौं भन्दै बसे । समस्या बढ्दै गएपछि उनको परिवारले शिक्षण अस्पतालमा भर्नाका लागि खोजी गरे । तर भर्ना पाउन नसकिने जवाफ पाएपछि काठमाडौं मेडिकल कलेज जोरपाटी पुगे ।

त्यहाँ पुग्दा थापालाई श्वास फेर्न कठिन भइरहेको थियो । अस्पतालले आइसियु छैन भन्दै जनरल बेडमा राख्यो । फेरि शिक्षण अस्पतालमै आइसियुको खोजी भयो। आइसियु खाली थिएन । उनलाई मेडिकल कलेजको जनरल बेडमा अक्सिजन दिएर राखियो । अस्पताल पुगेको तेस्रो दिन उनको मृत्यु भयो । पारिवारिक स्रोतका अनुसार उनमा कुनै पनि दीर्घरोग थिएन । कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको आफन्तको दाबी छ । आइतबार वीर अस्पताल ल्याउँदाल्याउँदै कीर्तिपुरका ३८ वर्षीय युवकको मृत्यु भयो । उनलाई होम आइसोलेसनबाट वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । युवक किन ढिला पुगे भन्ने विषयमा जानकारी छैन ।

उनीसहित दिउँसोसम्ममा चारजनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । पाँच दिनयता वीरमा मात्र दैनिक चारपाँच जनाको दरले कोरोना संक्रमितको मृत्यु हुने गरेको छ । शिक्षण अस्पतालका अनुसार आइतवार अस्पताल आइपुगेको केही समयमै ३० वर्षीय युवकको आइसियुमा मृत्यु भयो । उनी पालो पर्खेर आइसियु पुग्ने क्रममा मृत्यु भएको अस्पतालका आइसियु विभाग प्रमुख डा।सुभाष आचार्यले बताए । अस्पतालको अक्सिजन क्षमताभन्दा बढी बिरामी भर्ना भएका छन् । अस्पतालको क्षमताभन्दा १० गुणा बढी खपत हुने कारण सबैलाई अक्सिजन पुग्दैन । त्यसको विकल्प सिलिन्डर र अस्थायी लाइन अक्सिजन व्यवस्थापन गरिएको छ । डा. आचार्यका अनुसार कोभिड आकस्मिक कक्षको ढोकामा जबरजस्ती बसेका बिरामी जो तुरुन्तै अक्सिजन चाहिने अवस्थाका हुन्छन् र वृद्ध पनि हुन्छन्, भनेको बेला अक्सिजन नपाउँदा त्यस्ता बिरामीको मृत्यु हुने गर्छ ।

शुक्रराज सरुवा रोग अस्पतालले पनि क्षमताभन्दा बढी बिरामी आएका कारण अक्सिजन व्यवस्थापन गर्न हम्मे परेको जनाएको छ । अस्पतालका निर्देशक डा।सागर राजभण्डारीका अनुसार अस्पतालको बेड क्षमताभन्दा बढी बिरामी राखेर सिलिन्डरबाट औषधि दिइएको छ । ‘अरू अस्पतालले पन्छाउन खोज्छन्, स्वाँस्वाँ भएर आएका बिरामीलाई फर्काउन सकेनौं’, उनले भने । लिक्विड प्लान्टले आइसियु र भेन्टिलेटरलाई मात्र थाम्ने भएकाले अरू बिरामीलाई अक्सिजन व्यवस्थापन गर्न कठिनाइ परेको उनले सुनाए । शिक्षण अस्पतालका कोभिड उपचार संयोजक डा. सन्तकुमार दासका अनुसार धेरै जसो बिरामीको ढिलो उपचारमा पुग्दा मृत्यु हुने गरेको छ । पाँच दिनसम्म ज्वरो आउने, खोकी लाग्ने भएमा र श्वास–प्रश्वासमा कठिनाइ आउने बित्तिकै अस्पताल पुगेमा कुनै न कुनै व्यवस्थापन हुने र यस्ता बिरामीलाई बचाउन सकिने उनी बताउँछन् । ‘अहिलेको कोरोनाका बिरामीमा अनिश्चित समयमा निमोनिया देखिएकाले ज्वरो र श्वासको समस्या बढ्नेबित्तिकै अस्पताल पुग्नुपर्छ’, उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...