निजगढ विमानस्थलको विकल्प खोज्ने परमादेश पुनरावलोकन गर्न माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा गरेको निर्णय पुनरावलोकन गर्न सर्वोच्च अदालतसँग माग गरिएको छ । वीरगञ्जका उद्योगी व्यवसायीले निर्णय पुनरावलोकन गर्न सर्वोच्च अदालतसँग माग गरेका हुन्।

वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार विज्ञप्ति निकालेर सर्वोच्च अदालतले निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल त्यस ठाउँमा नबनाई विकल्प खोज्न परमादेश गरेकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष सुबोध गुप्ताले जारी गरेको विज्ञप्तिमा सर्वोच्चको पछिल्लो फैसलाले वीरगञ्जका साथै पर्सा र बारा जिल्लाको विकासमा नै नकरात्मक असर पर्ने देखिएकोेले फैसला पुनरावलोकन गर्न आग्रह गरिएको छ ।

निजगढमा विमानस्थल निर्माण नगर्ने आदेशले यसक्षेत्रको विकासमा नै नकारात्मक असर पर्ने वीरगञ्जका उद्योगी व्यवसायीको ठहर छ ।

‘३ दशकदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भई थप एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनी विभिन्न कार्यदलको अध्ययन प्रतिवेदनको आधारमा सबैभन्दा उपयुक्त स्थल निजगढलाई ठहर्‍याई नेपाल सरकारको निर्णय अनुसार नै विमानस्थल बनाउने निर्णय भएको थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसका लागि अर्बौं रुपैयाँ खर्च भई प्रारम्भिक कार्यसमेत सुरु भइसकेको अवस्थामा सम्मानित अदालतबाट हठात विकल्प खोज्न आदेश हुनु दुःखद् छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार