आज संसद्को विशेष अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबारबाट सुरु हुँदै छ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा आजै विश्वासको मतको प्रस्ताव टुंगो लगाउने कार्यसूची रहेको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एकै दिनमा प्रस्ताव टुंगो लगाउने कार्यसूची तय गरेको हो।

अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधि सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाए लगत्तै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री ओलीको मन्तव्यपछि दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आ–आफ्ना धारणा राख्नेछन्। प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएपछि मत विभाजन हुनेछ।

विश्वासको मत सम्बन्धी प्रस्तावमा ‘हुन्छ, हुन्न र दिन्नँ’ भन्ने गरी तीन प्रकारले मत दिने व्यवस्था गरिएको छ।

कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकले निर्णय गरे अनुसार कोरोना भाइरसबाट संक्रमित भएका सांसदहरुले पनि मत हाल्न पाउने गरि विशेष व्यवस्था गरिएको छ ।

विश्वासको मत प्राप्त गर्नका लागि प्रधानमन्त्री ओलीले १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेका १२१ सांसद छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ६१ सांसद, माओवादी केन्द्रका ४९ सांसद र समाजवादी पार्टीका ३२ सांसद रहेका छन् । यस्तै कांग्रेस र माओवादीले विपक्षमा मत दिने भएका छन् भने जसपाले तथष्ट बसेको छ । जसपाले ह्वीप जारी गरेको छैन र उसका सांसदले व्यक्तिग विवेकका आधारमा मतदान गर्ने बताइएको छ ।

मतदानमा सहभागी हुने भए पनि संक्रमित सांसद छलफलमा सहभागी हुन पाउँदैनन् । सभाहलमा के भइरहेको छ उनीहरूले सुन्न भने पाउनेछन् ।

त्यसका लागि सचिवालयले प्रोजेक्टर स्क्रिनको व्यवस्था गर्नेछ । अहिलेसम्म प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा एमाले सांसद मात्रै देखिएका छन्। उनीहरूमध्ये पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित २० सांसदले राजीनामा दिने चेतावनी दिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार