संसद जनताको भावना व्यक्त गर्ने थलो हो : पूर्वसभामुख घर्ती

पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा घर्तीले यस्तो बताएकी हुन ।

उनले संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गरिन् ।

त्यसप्रति संकेत गर्दै घर्तीले भनिन्, ‘संसद भनेको आम जनताको भावना अभिव्यक्त गर्ने थलो हो । जनताको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधिमार्फत अभिव्यक्त हुने गर्दछ, तर केही दिनयता संसदमा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रुझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने, अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृति देखिएको छ ।’

उनले मुलुकको विकासका लागि सत्ता पक्ष र प्रतिपक्षबीच हातेमालो हुनुपर्नेमा जोड दिइन् । घर्तीले विगतमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले मिहेनतपूर्वक दिएका सुझाव बेवास्ता गर्ने परम्परा रहेको भन्दै यसपटक त्यसो नगर्न सरकारलाई सुझाव दिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार