राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिए।
उनले भने, ‘यो सरकारको आर्थिक नीतिको बारेमा नीति तथा कार्यक्रमलाई हेर्दा अन्योलग्रस्त छ। यो एउटा कुहिरोको काग जस्तो भयो। यसले निजीकरणलाई प्राथमिकतामा राख्न खोजेको जस्तो देखियो। तर यो राजकीय भूमिका हो कि, निजी क्षेत्रको भूमिकालाई प्राथमिकतामा राखेको हो।’ उनले थपे ‘हामीले संविधानमा तीन खम्बे अर्थनीतिको कुरा छ। व्यवहारमा अवलम्वन गर्न खोजेको पनि त्यही हो । अहिलेको नीति तथा कार्यक्रममा यी चिज उल्लेख छैन। यो निजीकरणलाई प्राथमिकतामा राख्न खोजेको छ कि भन्ने देखियो। यसो हो भने वास्तवमा हाम्रो देशको अर्थतन्त्र धेरै गम्भीरतातर्फ जान्छ। यसले हाम्रो देशको गरिब, विपन्न, जनताको जीवनस्तर साह्रै खस्केर जाने र राष्ट्रको अर्थतन्त्र बर्बादीतर्फ जाने स्थिति हुन्छ।’