नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
भारतको उडिसाबाट धादिङका लागि हिँडेको यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्याँस बुलेटको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडकखण्ड दुईतर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।
यद्यपि साँझसम्म सडक पुन: सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भएको छैन । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ ।
बिजुलीको पोलमा ठोक्किएर ग्यास बुलेटमा आगो लागेको बताइएको छ ।