हिमपातका कारण यार्सागुम्बा सङ्कलन रोकियो

औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् ।

हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ”, उनले भने ।

नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए । दैनिक नौ–दशवटा यार्सागुम्बा सङ्कलन गर्न सकिने उनले बताए । “एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा सङ्कलनका लागि मनाङ आएका हौँ । लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि रु साढे चार लाख खर्च गरेको छ”, उनले भने, “पिसको रु ४०० मा ठेकेदारले लिन्छन् । पूर्जी र रासनको खर्च पुग्ने गरी सङ्कलन गरेको छु । गत वर्ष भने घाटा भएको थियो ।”

डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको उनी बताउँछन् । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनले बताए । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए । रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्किएको उनी बताउँछन् ।

आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको तामाङले बताए । धादिङका १९ जनालाई यार्सागुम्बा सङ्कलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताए । हालसम्म ५२० यार्सागुम्बा सङ्कलन गरेको उनले बताए ।

ठेकेदारले यार्सागुम्बा सङ्कलकलाई प्रतिगोटा रु ४०० दिने गरेको एसुले बताए । यार्सागुम्बा सङ्कलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उनीहरू बताउँछन्। तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउँछन्। “ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा रु ४०० दिन्छ । खर्कमा नै ठेकेदारले लैजाने र रकम लिन्छौँ”, रोहितले भने ।

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् ।

विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।

नाम्केखर्कबाट सुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा सङ्कलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना  इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसारको पहिलो हप्तासम्म औषधिजन्य जडीबुटी सङ्कलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी सङ्कलन गरी बेँसीतर्फ यार्सागुम्बा सङ्कलक फर्किने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार