जसपाले ह्विप जारी नगर्ने, सांसदले स्वविवेक प्रयोग गर्न पाउने

जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेताको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदा स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेको हो । यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो । पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिँदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय गरेको हो ।

आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि शिर्ष नेताको बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरुले सरकारलाई विश्वासको मत दिए पार्टी विभाजन हुने भन्दै मत नदिने स्पष्ट पारेका थिए । देउवासँगको भेटमा पनि ठाकुर र महतोले ओलीलाई विश्वासको मत नदिने तर त्यसपछि बन्ने सरकारलाई पनि समर्थन गर्न नसकिने जवाफ दिएका थिए । तर, शिर्ष नेताको बैठकले पक्ष विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार