नेपालको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परे : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखापरेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बन्दै गएको भनेर गलत सूचना दिएको दावी गरेका हुन् ।

‘मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेका छन् । नेपालको राष्ट्रिय हित के हो, नेपाल कहाँनेर उभिनुपर्ने हो ?’, ज्ञवालीको प्रश्न छ । उनले नीति तथा कार्यक्रमको बुँदा नं ७, ७७ र १३९ मा हाम्रो मित्र राष्ट्रसँगको सम्बन्ध सुदृढ बन्दै गएको भनेर गलत सुचना दिइएको बताए ।

उनले भारतसँग सीमा समस्याहरु कायम रहेको तथा लिपुलेक, लिम्पियाधुरा, कालापानी भूभागलाई नेपालको सदनले हाम्रो हो भनेर संवैधानिक र कानुनी हिसावले स्पष्ट पारिसकेको अवस्थामा त्यसलाई वार्ताबाट फिर्ता ल्याउनुपर्ने भएपनि त्यसबारे दस्तावेजले केही नबोलेको बताए ।

‘सरकार समस्या नभएको चीनसँगको सीमा समस्याको बारेमा कार्यदल बनाउँछ । गलत सुचनाहरु दिन्छ । न त्यो कार्यदलको प्रतिवेदन सार्वजनिक गर्छ ? न यसबारेमा उठेका प्रश्नहरुको जवाफ दिन्छ ?’ज्ञवालीको प्रश्न छ । उनले उर्जा उत्पादनबारे प्राकृतिक स्रोतमाथिको अक्षिण अधिकारमा प्रश्न उठ्दा समेत सरकारले स्पस्ट नपारेको र बीआरआई सम्झौतामा एक शब्द उल्लेख नगरेको भन्दै एक चीन नीति विपरित हुनेगरी शरणार्थी शिविरमा विदेशी मन्त्रीलाई घुम्न दिएको आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार