नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा रहेको सत्तारुढ दलका सांसदहरुको दाबी

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले छलफल गरेका छन्। कार्यक्रममाथि संशोधनको सूचना पेश गरेका सांसदहरुको बोल्नेक्रम सकिएपछि अन्य सांसदहरुले छलफलमा भाग लिएर आआफ्ना धारणा व्यक्त गरिरहेका छन्।

नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले गर्न नसकेका काम र विद्यमान अर्थतन्त्रका कारण सामना गर्नुपरिरहेको परिस्थिति नियन्त्रणका लागि पनि नीति तथा कार्यक्रममार्फत कार्यक्रम अघि बढाइएकाले यो जनता र राष्ट्रको पक्षमा रहेको बताए । सीमा समस्याका सम्बन्धमा प्रतिपक्षी दलका सांसदहरुबाट उठाइएका प्रश्नप्रति सङ्केत गर्दै उनले कूटनीतिक रुपमा सीमा विवादलाई सम्बोधन गर्ने भनेर उल्लेख भइसकेपछि त्यस विषयमा अन्य कुरा उठाइरहनु तर्क सङ्गत नहुनेमा जोड दिए ।

यसअघि बोल्ने प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले सीमा समस्याको कुरा सम्बोधन नभएको भन्दै संशोधनको सूचना पेश गरेका थिए । नेता सिंहले नागरिकताका सन्दर्भमा सहमतिका आधारमा समस्या समाधान गरिने स्पष्टरुपमा उल्लेख गरिएकाले प्रश्न गर्नुपर्ने कुरा नै नभएको बताए । उनले ३३ बुँदामा दुई वर्षभित्र अव्यवस्थित बसोबासका समस्या समाधान गरिने कुरा सकारात्मक रहेको पनि चर्चा गरे । बूढीगण्डकी आयोजना नेपालले गर्न नसक्ने हो र रु भन्दै उनले जोड दिए, “यस विषयमा प्रश्न उठाउनु कतिको औचित्य छ, सोच्नुपर्छ ।”

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले नीति तथा कार्यक्रमका उद्देश्यहरू सकारात्मक रहेको बताए । गरिबीको दर घटाउने, पर्यावरण संरक्षण, सुशासन, कृषकको संरक्षण, विकास, उद्योग प्रवद्र्धन, नेपाली सामान उत्पादन र उद्योगको प्रवद्र्धन गर्ने कुराहरु सकारात्मक रहेको बताए । उनले आजको असामान्य अवस्था र जनताको अपेक्षालाई ध्यान दिँदा नीति तथा कार्यक्रमले नयाँ कुरा माग गरिरहेको बताए । सांसद बस्नेतले आर्थिक सूचकहरु सकारात्मक नरहेको अवस्थामा यस विषयमा अझै ख्याल गर्न र राजनीतिक सेवामा पनि व्यापारीकरण भइरहेकोतर्फ ध्यान दिन आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार