गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले राजीनामा दिएका हुन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

उनले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले हालसम्म गरेका कामप्रति धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको १६९ को उपधारा (३) बमोजिम मौजूदा काम सञ्चालन गर्न र धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यसमाथि सोमबार गण्डकी प्रदेशसभामा मतदान हुने कार्यक्रम थियो । सोअगावै नेकपा (एमाले) संसदीय दलका नेताका रुपमा रहेका मुख्यमन्त्री गुरुङले आज राजीनामा दिएका हुन् ।

 

Loading...