कांग्रेसको विजयी र्‍यालीमा स्वतन्त्रबाट जितेका मेयर, भन्छन्- म कांग्रेस नै हुँ

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले बुधबार निकालेको विजयी जुलुसमा स्वतन्त्र भएर मेयरमा जितेका मनोजकुमार साह पनि सहभागी भएका छन् ।

जनकपुरको गोपाल धर्मशालाबाट अपराह्न ३ बजेतिर निकालिएको विजयी जुलुसमा मेयरमा जितेका साहले पनि कांग्रेसकै व्यानर र तुल बोकेर नगर परिक्रमा गरेका छन् । उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्‍यालीको अग्रपंक्तिमा थिए ।

र्‍यालीमा सहभागी हुँदै साहले आफू कांग्रेस नै भएको र कांग्रेसले नै मतदान गरेर जिताएका कारण र्‍यालीमा सहभागी भएको बताए । ‘मलाई कांग्रेसीले नै जिताएको हो । उनीहरुप्रति आभार प्रकट गर्न कांग्रेसकै विजयी जुलुसमा सहभागी भएको हुँ’ साहले भने ।

गठबन्धन गर्दा जनकपुर उपमहानगरको मेयर जनता समाजवादी पार्टी (जसपा)को भागमा परेपछि कांग्रेसका जनकपुर नगरसभापति रहेका साहले पार्टीबाट राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनी १३ हजार ४ सय ६५ मत ल्याएर जनकपुरको मेयरमा निर्वाचित भएका छन् । मतपरिणाम घोषणा भएको दिन सोमबार एक्लै विजयी उत्सव मनाएका साह बुधबार भने कांग्रेसकै विजयी र्‍यालीमा सरिक भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार