विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

तर शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले जेठमा महाधिवेशन गर्न नसिकने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने पनि बैठकले निर्णय गरेको छ । उक्त बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार