पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली : अब कति पुग्छ इन्धनको मूल्य ?

सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई लागत प्रभावितका साथै स्वचालित बनाउने घोषणा गरेको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्यलाई स्वचालित बनाइने उल्लेख छ । ‘आपूर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावकारी बनाउन मूल्य निर्धारणमा स्वचालित प्रणाली लागू गरिने छ,’ उनले भनिन् ।

कर समायोजन नगरी स्वचालित मूल्य प्रणाली लागू गर्दा इन्धनको मूल्य थप महँगिन जानेछ । नेपाल आयल निगम करिब ३५ अर्ब रुपैयाँ घाटामा गएपछि सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने योजना बजेटमार्फत अगाडि बढाएको हो ।

पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान परिपूर्तिको क्रममा निगम स्रोतबिहीन भएको छ। यसअघि वाणिज्य बैंकहरूमा रहेको संस्थाको निक्षेप र आफ्नो कोषको रकम समेत सकिएको छ। निगमले पेट्रोलियम पदार्थको घाटा थेग्न नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आफ्नो तर्फबाट पेट्रोलियम खपत घटाउने विभिन्न उपाय प्रस्ताव गर्दै आएको थियो । जसमा पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउन पर्ने समेत निगमले प्रस्ताव गरेको थियो ।
तर सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई लागत प्रभावितका साथै स्वचालित बनाएको हो ।

निगमका अनुसार सरकारले भन्सार महसुल, मूल्य अभिबृद्धि कर, पूर्वाधार शुल्क लगायत गरी पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँसम्म कर लिने गरेको छ। गत जेठ ८ गत आईओसीको नयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १९४ रुपैयाँ ६४ पैसा र डिजेलको १८९ रुपैयाँ ८२ पैसा छ । यस्त ग्यासको लागत मूल्य २६७९ रुपैयाँ ७५ पैसा छ ।

निगमले अहिले पेट्रोल प्रतिलिटर १८०, डिजेल प्रतिलिटर १६३ रुपैयाँ र खाना पकाउने एलपी ग्याँस प्रति सिलिण्डर १८०० मा बिक्री गर्दै आएको छ । हालको बिक्री मूल्यलाई स्वचालित मूल्यमा लगिए पेट्रोलको मूल्य लिटरमा १४ रुपैयाँ ६४ पैसा, डिजेलको मूल्य २६ रुपैयाँ ८२ पैसा प्रतिलिटर र एलपी ग्यास प्रतिसिलिन्डर ८ सय ८० रुपैयाँ एकै पटकमा वृद्धि हुने अवस्था छ ।

सरकारले अपुग रकम जुटाउन सहयोग नगरेपछि निगमले इन्धन खरीदको रकम भारतीय आयल कर्पोरेसन आईओसी लाई तिर्न नसकेर यो महिना उधारो राख्ने अवस्था आएको छ । स्वचालित मूल्य प्रणाली लागू गर्ने कार्यक्रम बजेटमा आएपछि वाणिज्य मन्त्रालयमार्फत यो कार्यान्वयन हुनेछ ।

सरकारले बजेटमार्फत पेट्रोलियमको स्वचालित मूल्य निर्धारण गर्‍यो भने पछिल्लो समय आएको नयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १९४ रुपैयाँ ६४ पैसा र डिजेलको १८९ रुपैयाँ ८२ पैसा पुग्नेछ । यस्तै खाना पकाउने ग्यासको मूल्य २६८० रुपैयाँ पुग्ने छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार