सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने बताएकी हुन् ।
हालसम्म सरकारले जग्गाको न्यूनतम मूल्यांकन गर्ने काम गरिरहेको थियो । सरकारले तोकेको जग्गाको न्यूनतम मूल्यांकनमा रही तोकिएको मूल्यभन्दा तल नगई खरिदकर्ता र बिक्रीकर्ता जग्गाको मूल्यांकन गरिरहेको छ ।
अब विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने समेत उनले बताएकी छिन्।
योसँगै जथाभावी रुपमा हुने घरजग्गा प्लटिङ रोकिने भएको छ । घरजग्गा कारोबार विशिष्टकृत संस्थाबाट नहुँदा र व्यक्तिले जथाभावी गर्दा सरकारले रियल स्टेटबाट आउने राजश्व समेत गुमाइरहेको थियो । त्यस्तो संस्थामार्फत घरजग्गा कारोबारको व्यवस्था मिलाएर सरकारले यो क्षेत्रमा भइरहेको कर छलीमाथि समेत नियन्त्रण गर्न खोजेको हो ।
जथाभावी घरजग्गा कारोबारले सर्वसाधारण ठगिने क्रम समेत उसैगरी बढिरहेको थियो । यो संयन्त्रपछि थप व्यवस्थित हुने ठानिएको छ ।