महानगर र उपमहानगरको उपमेयरमा एमालेको बहुमत

काठमाडौं । नेकपा एमालेले यो पटकको स्थानीय निर्वाचनमा कुनैपनि महानगरमा जित हात पार्न सकेन । तर उपमेयरमा भने बहुमत संख्या जित्ने भएको छ । पोखरा महानगरको अन्तिम नतिजा आउनु अघि नै मेयर र उपमेयरको नतिजा निश्चित भइसकेको छ ।

मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर बन्ने निश्चित भएको छ । एमालेका कृष्ण थापालाई हराउँदै उनी मेयर बन्ने भएका हुन् । तर उपमेयर भने एमालेकै मञ्जुदेवी गुरुङ निर्वाचित हुँदैछिन् ।

अन्तिम नतिजा आइसकेको विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला मेयर निर्वाचित भए । ३० हजार १७० मत ल्याउँदै उनले एमालेका सागर थापालाई पराजित गरे ।

तर उपमेयरमा भने गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई झण्डै नौ हजार अन्तरले पराजित गर्दै एमालेकी शिल्पा कार्की विजयी भइन् । कार्कीले २५ हजार ६८० मत ल्याउँदा यादवले १४ हजार २९१ मत मात्रै पाइन् ।

काठमाडौं महानगरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरले अग्रता लिएकी छन् । मत गणना अब धेरै बाँकी नरहेकाले सुनिता जित नजिक छन् ।

गठबन्धनका उम्मेदवार हराउँदै उपमहानगरमा पनि एमालेले धेरै उपमेयर जितेको छ । ०७४ को चुनावमा ११ मध्ये एमालेले सात उपमहानगर जितेको थियो । तर यसपटक अधिकांश ठाउँ गुमाउँदै दुई जितेको छ भने गणना चलिरहेको तुलसीपुरमा प्रतिस्पर्धामा छ ।

ललितपुर महानगरको मेयरमा पनि एमालेका उम्मेदवार फराकिलो अन्तरले पछाडि पर्दा उपमेयरमा भने झण्डै ६ हजारको अग्रता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार