काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘ प्रतिगमनका विरुद्ध हाम्रो पार्टीसहितले गरेको पाँच दलीय गठबन्धन मूलतः सही थियो भन्ने कुरा राष्ट्रिय राजनीतिमा पुनः पुष्टि भएको छ ।’
राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनकै कारण ‘प्रतिगमन’लाई परास्त गर्न सफलता प्राप्त भएको दाबी गरेको छ । उसले यो गठबन्धनलाई प्रदेश तथा केन्द्रीय निर्वाचनसम्म सँगै लैजानुपर्ने निर्णय गरेको अध्यक्ष केसीले बताएका छन् ।