मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मेयरमा सिंहले ४६ हजार २ सय १५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले २३ हजार ६७१ मत पाएका छन् । निवर्तमान मेयरसमेत रहेका सरवागीलाई सिंहले २२ हजार ५४४ मतले हराएका हुन् । मेयरका अर्को उम्मेदवार राप्रपाका गिरिश गिरीले ३ हजार ३१३ मत पाएका छन् ।
उपमेयरमा विजयी भएका कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५६८ मत पाएका छन् । आलमले झालाई २० हजार ५१० मतले पराजित गरेका हुन् । उपमेयरमा विजयी भएका आलम कांग्रेस पर्साका जिल्ला सचिव हुन् । मेयर र उपमेयरमा एमाले र लोसपाले गठबन्धन गरेको थियो ।