मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी

दुवैको गन्न बाँकी मतभन्दा अग्रता धेरै

भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारी विजयी भएकी छन् ।

भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

दाहाल र सुवेदीको मतान्तर ११ हजार ४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् ।

त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरमा छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत आएको छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको हुँदा उपमेयरमा चित्रसेन अधिकारी विजयी भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार