काठमाडौँ महानगरकाे वडा ९ मा कांग्रेसका भण्डारी, १० मा केसी निर्वाचित

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन् ।

अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनको प्रतिस्पर्थी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन् । महिला सदस्यमा कांग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय भएका छन् ।

वडा १० मा कांग्रेसको केसी निर्वाचित 
त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय भएका छन् । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पारेका हुन् । अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा  प्रतिस्पर्थी कार्कीले २९५३ मत प्राप्त गरेका छन् । सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित भएका छन् । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय भएकी छन्। दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित भएका छन् ।

यसैबीच कामपाको प्रमुखको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४६ हजार ५३४ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रसका उम्मेदवार सिर्जना सिहले २७ हजार ८५८ मत पाएका छन् । एमालेका केशव स्थापितले २६ हजार ७७३ मत ल्याएका छन् । उपप्रमुखमा एमालेको उम्मेदवार सुनिता डङ्गालले ४८ हजार ५१७ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार ६६० मत पाएका छन् ।

२२ वटा वडाको मतपरिणाम सार्वजनिक
महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११,  १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२  को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

त्यसैगरी हालसम्मा एक लाख ३४ हजार ३५६ मतगणना सम्पन्न भएको छ भने जसमा चार हजार ९६४ मत बदर भएको आयोगले जानकारी दिएको छ । कामपामा तीन लाख २२४ मतदाता रहेकामा करिब एक लाख ९२ हजार मत खसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार