माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ

माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरको एकान्त होटेलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँकै २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षीया सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका–१ का ३० वर्षीया गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।

उनीहरुले दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोजेका थिए । पक्राउ परेकाको साथबाट दुई थान इँटाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्री गर्न खोजेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार