स्थानीय निर्वाचनको परिणाम सन्तोषजनक : काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको बताएको छ ।७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ ।

‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं’ सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, यदि पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं भन्ने अनुमान छ ।’

देशभरका कुल नगरपालिकामध्ये झण्डै ५० प्रतिशतमा कांग्रेसले जितेको भन्दै उनले अघि भने, ‘झण्डै आधा ठाउँमा हामीले विजय हासिल गर्‍यौं भन्ने आधार प्रशस्त छ ।’

चुनावमा सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको कांग्रेसले बताएको छ । यसले आगामी निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउने आधार समेत बनाएको कांग्रेस प्रवक्ता डा. महतले बताए । आउने आम निर्वाचनमा स्पष्ट बहुमत ल्याउने कांग्रेसको लक्ष्य रहेको भन्दै प्रवक्ता डा. महतले भने, ‘गठबन्धनलाई सँगसँगै अगाडि बढाउँछौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार