ताइवानको सुरक्षाका लागि अमेरिकाले सहयोग गर्ने बाइडेनको घोषणा

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् । जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा ताइवनालाई सुरक्षा गर्ने जिम्मेवारी झन् बलियो बनेको बाइडनको भनाइ छ ।

उनले भने, ‘हामी एक चीन नीतिको पक्षमा छौं । हामीले त्यसमा हस्ताक्षर गरेका छौं र त्यसैका आधारमा सबै सहमति गरेका छौं । तर ताइवानलाई बलपूर्वक लिने अवधारणा गलत छ ।’

तर चीनले सैन्यबल प्रयोग गरेर ताइवान हात पार्ने स्थिति आउने अपेक्षा नगरेको पनि बाइडनले बताए । त्यस्तो घटनाले समग्र क्षेत्रलाई अस्थिर बनाउने र यो अर्को युक्रेन जस्तो हुने उनको भनाइ छ । ताइवानका विषयमा अमेरिकाले अपनाएको रणनीतिक दुविधालाई बाइडनले यस बयानमार्फत त्यागेको जस्तो देखिएको छ ।

तर बाइडनको बयानलगत्तै ह्वाइट हाउसका एक अधिकारीले ताइवानका विषयमा अमेरिकाको अडानमा परिवर्तन नआएको बताएका छन् । एक चीन नीतिलाई अमेरिकाले नत्यागेको र ताइवान जलसन्धिमा शान्ति तथा स्थिरताको पक्षमा रहेको कुरालाई नै राष्ट्रपतिले दोहोर्‍याएको ती अधिकारीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार