को हुन हर्क साम्पाङ, धरानवासीको हर्ष बन्लान् त ?

स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भए ।

साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बताए । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन्। साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्नुभएको छ भने उहाँ प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे ।

यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगर प्रमुखमा नेकपा (एमाले)का मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् ।

सामाजिक अभियन्ताका रुपमा चिनिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनी प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए । एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताए । उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए ।

को हुन हर्क साम्पाङ

हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन् । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मीएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् ।

अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे। त्यसको केही समयपछि विदेशीएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे।

अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरे साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो । उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गर्नुभयो । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले। खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रीए । यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए ।

धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे। ‘सतिसाल’झैँ नागरिकका सानातिना समस्यामा उन आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन् । “यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो । उहाँहरुप्रति धेरै कृतज्ञ छु”, नवनिर्वाचित साम्पाङले भने ।

विसं २०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उनले तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ ।

उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन्। “धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ”, उनले भने ।

अभियन्ता साम्पाङ

धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन। उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिए र सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हाले ।

एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याउनुएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।

“धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद विषय हो”, मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भने । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार