गहुँ निर्यातमा प्रतिबन्धले नेपालमा चाउचाउ र बिस्कुटको मूल्य बढ्न सक्ने

भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्य सुरक्षाको जोखिम रहेको भन्दै तत्काल लागू हुने गरी प्रतिबन्ध लगाएको हो । घरेलु बजारमा गहुँको भाउ बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको आधिकारिक सूचनामा उल्लेख छ । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि भारत सरकारले यो प्रतिबन्ध लगाएको हो । मुलुकभित्र बढ्दो खाद्य सुरक्षा चुनौती र महँगी वृद्धिलाई ध्यानमा राख्दै भारतले गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको बताइएको छ ।

आयात बन्द हुँदा नेपाली बजारमा माग र आपूर्तीबीच समस्या उत्पादन हुने  उद्योगीहरुको भनाइ छ । गहुँको खपत विशेष गरी फुड प्रडक्टहरु बेकरी, चाउचाउ, पास्ता, बिस्कुट, आटालगायतमा बढी हुन्छ । यदि बजारमा आयात प्रतिबन्धकै कारण गहुँ अभाव भए उत्पादनको मूल्य २० देखि २५ प्रतिशतसम्म बढ्न सक्ने उद्योगीहरुको दाबी छ ।

कच्चा पदार्थको अभाव भयो भने नाफा संकुचन गर्दा समेत नभए मूल्य बढाउनुपर्ने अबस्था हुन्छ । गहुँ बेकरीदेखि होटलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ हो । नेपालमा साढे १० महिना गहुँ र मैदाको पिठोको माग पूर्ति आयातित गहुँबाटै हुन्छ ।

बजारमा माग र आपूर्तीबीच समस्या उत्पादन हुने   र मूल्य बढ्ने भन्दै यसले उत्पादन लागत बढाउन सक्ने उद्योगीहरु  बताउँछन् ।

त्यस्तै नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो साथै गाईको दाना अर्थात् चोकरको अभाव हुनसक्ने पिठो उत्पादकहरूले चिन्ता ब्यक्त गरेका छन् । नेपालमा उत्पादित गहुँले जेठ महिनाभर बजारको माग धाने पनि असारदेखि गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने बताइएको छ । नेपालमा करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७६र७७ मा सात लाख सात हजार ५०५ हेक्टरमा गहुँ खेती भएको थियो । यो वर्ष २१ लाख ८५ हजार २८९ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । मुख्य खाद्य बाली गहुँको उत्पादन मुलुकभित्र पर्याप्त नहुँदा बर्सेनि ठूलो परिमाणमा गहुँ आयात हुँदै आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा १८ करोड ९२ लाख २० हजार ५६४ केजी गहुँ आयात भएको छ । यो पाँच अर्ब ९७ करोड २२ लाख २५ हजार रुपियाँ बराबरको आयात हो ।

सो अवधिमा सबैभन्दा धेरै गहुँ आयात भारतबाट भएको छ । साउनदेखि चैतसम्मको अवधिमा भएको गहुँको आयातको ९९ प्रतिशत नै भारतबाट आएको हो । अस्ट्रेलिया, मेक्सिको र टर्कीबाट थोरै परिणाममा गहुँ आयात हुने गर्छ । गहुँको बीउ, पिठो र मैदा आयात हुने गर्छ ।

दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा गहुँको उत्पादनले माग धान्न नसेपछि बर्सेनि आयात हुने गर्छ । पछिल्लो समय रोजगारीका लागि विदेश जाने सङ्ख्या बढी भएकाले स्थानीयस्तरमा खेतीपाती गर्ने जनशक्ति अभाव हुँदा खेतबारी बाँझै छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार